काठमाडौं, १५ पुष । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी वायुको आंशिक प्रभाव सक्रिय रहेको छ। हाल तराईका धेरै स्थानमा घना हुस्सु र कुहिरो देखिएको छ भने पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ।
दिउँसो पनि तराईका अधिकांश क्षेत्र हुस्सु र कुहिरोमै रहने पूर्वानुमान गरिएको छ। त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने र अन्य भू–भागमा मौसम मुख्यतया सामान्य रहने बताइएको छ।
आज राति समेत तराईका क्षेत्रमा हुस्सु कायम रहने सम्भावना रहेको महाशाखाले जनाएको छ। हुस्सु र कुहिरोका कारण बिहानको समयमा जनजीवन, स्वास्थ्य तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।







