
काठमाडौँ, १५ कात्तिक । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले दशैँ, तिहार, छठलगायतका चाडपर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखि पूर्वसभामुख दमननाथ ढुङ्गानासम्म सहभागी भएका छन् ।
एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा बुधवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित चियापान कार्यक्रममा सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा मालेका महासचिव सिपी मैनाली, पूर्वसभामुख दमननाथ ढुङ्गाना, विभिन्न राजनीतिक दलका नेता, नेपालमा रहेको कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीसहितको उपस्थिति रहेको थियो ।
एमालेले दशैँ लगत्तै हरेक वर्ष चियापान कार्यक्रम गर्दै आएको छ । यस वर्ष कात्तिक १४ गते आयोजना गरिएको यो कार्यक्रम संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणका कारण एक दिनपछि सारिएको हो ।













