ताइवान, २८ पुस । ताइवानमा सम्पन्न राष्ट्रपति चुनावमा चीन विरोधी भनेर चिनिएका विलियम लाइ विजयी भएका छन् ।
वर्तमान उपराष्ट्रपति तथा सत्तारुढ ‘डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी’ (डीपीपी) का उम्मेदवार लाइ राष्ट्रपति पदमा विजयी भएको बीबीसीले जनाएको छ ।
उनका निकटतम प्रतिस्पर्धी विपक्षी दल ‘कुमिन्टाङ’ (केएमटी) का होउ यु-इह ले पराजय स्वीकार गरेका छन् । ताइपेईका मेयर होउ यु-इह चीनसँग घनिष्ठ सम्बन्धको पक्षमा हुन् । लाइको जित पछि आयोजित र्यालीमा बोल्दै ताइवानकी वर्तमान् राष्ट्रपति साई इङ-वेनलेले ताइवानमा लोकतन्त्रको जित भएको बताएका छन् ।
ताइवानको स्वतन्त्रता र लोकतन्त्रको लागि कुनै पनि चुनौती र दबाबले प्रभाव नपारेको भन्दै उनले मतदाताहरुलाई धन्यवाद दिए । यस्तै राष्ट्रपतिमा निर्वाचित भएपछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग कुरा गर्दै विलियम लाइले चीनसँगको सम्बन्धमा अत्यन्तै सतर्क रहने बताएका छन् । उनले चीनसँग आपसी सम्मानका आधारमा संवाद र सहयोग रहने बताए ।
उनले चार महिनापछि मे २० तारेखमा ताइवानको राष्ट्रपतिको शपथ लिनेछन् । आज भएको राष्ट्रपति र संसदीय चुनावमा झण्डै एक करोड ९० लाख जनाले मतदान गरेका बीबीसीले जनाएको छ । एक सय १३ सदस्यीय विधायिकाको पनि मतगणना चलिरहेको छ ।
ताइवानलाई चीनले आफ्नै देशको हिस्सा दाबी गर्नु र ताइवनासँगको सम्बन्धकै कारण चीन र अमेरिकाबीच टकराव रहेकोले यो चुनावलाई विश्वले चासोको साथ हेरेको छ ।







