काठमाडौँ, २० साउन । परराष्ट्र मन्त्रालयले अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि उत्पन्न परिस्थितिलाई नेपालले नजिकबाट नियालिरहेको बताएको छ ।
शुक्रवार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा नेपाल सधैँ ‘एक चीन नीति’ को समर्थनमा रहेको पनि स्मरण गराएकी हुन् । अमेरिकी सभामुख पेलोसीको भ्रमणलाई चीनले आफ्नो देशको सार्वभौमसत्ता र स्वाधीनतामाथिको आक्रमण भनेको छ ।
उनले भन्नि, ‘नेपालले यस घटनालाई नजिकबाट नियालिरहेको छ । नेपालले सधैँ एक चीन नीति समर्थन गर्दै आएको छ । एक शान्तिप्रिय राष्ट्रको रूपमा नेपाल सधैँ अन्तर्राष्ट्रिय शान्ति र स्थायित्वको पक्षमा रहेको कुरा यहाँहरूलाई जानकारी गराउन चाहन्छु ।’
परराष्ट्र मन्त्रालयले नेपाल-चीन दुवै देशले सधैँ एकअर्काको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधीनताको सम्मान गर्दै आएको जनाएको छ ।







