Logo

तातोपानी नाका जोड्ने लिपिङ खोलामा बेलिब्रिज राख्न शुरू



काठमाण्डौ, २१ माघ ।  गएको अशोजमा बाढीले बगाएको सिन्धुपाल्चोकको तातोपानी नाका जोड्ने लिपिङ खोलाको पक्की पुलमा नयाँ बेलिब्रिज राख्ने काम शुरू भएको छ ।

खोलाको दुवैपट्टीको भागमा जग र ढलान सुकाएर बेलिब्रिज जडान थालिएको हो । चार, पाँच दिनमै बेलिब्रिज जडान गरिसकिने सडक डिभिजन कार्यालय चरिकोटले जनाएको छ ।

माघ ६ गतेदेखि २५ गतेसम्म नाका पूर्णरुपमा बन्द गरेर बेलिब्रिज निर्माणलाई तीव्रता दिइएको हो । आउँदो शुक्रवारसम्म बेलिब्रिज जडानको काम सकेपछि नाकाबाट मालबाहक कन्टेनर काठमाण्डौ ओहोरदोहोर गर्न सक्ने आयोजनाले जनाएको छ ।

गएको अशोजमा लिपिङ खोला र भोटेकोशीमा आएको बाढीले मोटरेबल पुल र बेलिब्रिज बगाएको थियो । लार्चामा त्यतिबेलै ह्युमपाइप राखेर यातायात सञ्चालनमा ल्याइएको थियो ।

सडक डिभिजन कार्यालयका अनुसार आउँदो वर्षायाम अघि नै सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकको सिमाना बन्देउदेखि चीन  सिमाना मितेरी पुलसम्मको लिपिङ सडक खण्ड चौढा, कालोपत्रेलगायत स्तरोन्नतिको काम सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्