ताप्लेजुङ, २१ जेठ । ताप्लेजुङका सबै स्थानीय तहमा कार्यपालिका गठन भएका छन् ।
एक नगरपालिका र आठ गाउँपालिकासहित जिल्लाका नौवटै स्थानीय तहमा कार्यपालिका सदस्य चयन भएसँगै सबै स्थानीय तहमा कार्यपालिका गठन भएका हुन् ।
जिल्लाका सबै स्थानीय तहमा कार्यपालिका सदस्य चयनका लागि भएको निर्वाचनमार्फत पाँच पालिकामा सत्ता गठबन्धनले सुविधाजनक बहुमत प्राप्त गरेको छ । बाँकी चार पालिकामा एमालेले बहुमत जुटाएको छ । एक मात्र फुङ्लिङ नगरपालिकाको कार्यपालिका सदस्यमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) सम्मिलित गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
यस्तै गठबन्धनले सिरिजङ्घा गाउँपालिका, मैवाखोला गाउँपालिका, फक्ताङ्लुङ गाउँपालिका र मिक्वाखोला गाउँपालिकामा कार्यपालिका सदस्य चयनका लागि भएको निर्वाचनमा सुविधाजनक बहुमत प्राप्त गरेको छ । सत्ता गठबन्धनतर्फ केही स्थानीय तहको कार्यपालिकामा नेकपा (एकीकृत समाजवादी) बाटसमेत प्रतिनिधित्व भएको छ ।
एमालेले भने मेरिङ्देन गाउँपालिका, सिदिङ्वा गाउँपालिका, पाथीभरा याङ्वरक गाउँपालिका र आठराई त्रिवेणी गाउँपालिकाको कार्यपालिकामा स्पष्ट बहुमत प्राप्त गरेको छ ।
यता स्थानीय तहको कार्यपालिका सदस्य चयनको प्रक्रिया सम्पन्न भएसँगै अब जिल्ला सभा तथा समन्वय समिति चयनको प्रक्रिया सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।