ताप्लेजुङ, २५ असार । ताप्लेजुङमा चट्याङले लागि घाइते भएका एक जनाको मृत्यु भएको छ । सिदिङ्वा गाउँपालिका–३ थुङरुङ्वाका राज कुमार लिम्बू (देवान) को उपचारको क्रममा मृत्यु भएको हो ।
३९ वर्षीय देवान मङ्गलबार साँझ ५ः२० बजे आफ्नै घरमा बसिरहेका बेला पानीसँगै परेको चट्याङले लाग्दा घाइते भएका थिए । घाइते देवानलाई उपचारका लागि स्वास्थ्यचौकी साब्लाखु लगिएको थियो ।
उपचारको क्रममै लिम्बूको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । देवानको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइएको पारिवारिकले जनाएको छ ।
यस्तै, सिदिङ्वा गाउँपालिका पाँच लिम्बूदिनका मिसन लिम्बू पनि चट्याङ लागेर घाइते भएका छन् । मङ्गलबार साँझ ६ बजेको समयमा घरको एमसिबी झार्ने क्रममा १७ वर्षीय लिम्बू चट्याङले लागेर घाइते भएका थिए ।
घाइते लिम्बूको स्वास्थ्य चौकी साब्लाखुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभएको छ ।