पोखरा, २० जेठ । यती एअरलाइन्सको भगिनी संस्था तारा एअरले पोखरा-जोमसोम उडान एक हप्ताका लागि स्थगित गरेको छ ।
एअरलाइन्सले आजदेखि २७ गतेसम्मका लागि पोखरा-जोमसोम-पोखराका नियमित उडान स्थगित गरेको हो ।
यती एअरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले तारा एअरले विशेष कारणवश पोखरा-मुस्ताङको टिकट बन्द गर्ने निर्णय गरेको बताए ।
गएको आइतवार पोखराबाट जोमसोम उडेको तारा एअरको जहाज मुस्ताङको थासाङ गाउँपालिका- २ सानुसरेमा दुर्घटना हुँदा चालक दलका सदस्यसहित विमानमा रहेको सबै २२ जनाको निधन भएको थियो ।






