Logo

तालमेल गर्ने-नगर्ने अधिकार पार्टीको स्थानीय कमिटीलाई: महामन्त्री थापा



काठमाडौँ, ३ वैशाख । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानिय निर्वाचनमा तालमेल गर्ने वा नगर्ने भन्ने निर्णय गर्ने अधिकार पार्टीको स्थानीय कमिटीलाई रहेको बताएका छन् । शनिबार गृहनगर बुढानिलकण्ठमा आयोजित चियापान कार्यक्रममा बोल्दै महामन्त्री थापाले सत्ता गठबन्धनमा चुनावी तालमेल गर्ने समझदारी भएपनि तालमेल गर्ने वा नगर्ने भन्ने निर्णय गर्ने अधिकार पार्टीको स्थानीय कमिटीलाई रहेको बताएका हुन्

उनले पार्टी केन्द्रको निर्णयलाई आधार मानेर उम्मेदवार टुंगो लगाउन र नतिजा आफ्नो पक्षमा पार्ने गरी प्रचार प्रसारमा लाग्न आग्रह गरेका छन् । ‘पार्टीले अवस्था र आवश्यकताका आधारमा तालमेल गर्न सक्ने भनेर निर्णय गरेको छ, त्यो भनेको तालमेल गर्न पनि सक्ने, नगर्न पनि सक्ने भन्ने हो । यसको निर्णय केन्द्रीय सभापति वा केन्द्रीय समितिले गर्ने होइन, तालमेल गर्ने कि नगर्ने भन्ने निर्णय स्थानीय कमिटीबाटै हुन्छ,’ उनले भने ।

‘हाम्रा पुराना मतदाताको संख्या एउटा छ, अहिले त्यतिकै संख्यामा नयाँ मतदाता थपिनुभएको छ । हामीले नयाँ पुराना मतदाताको साथलाई जोगाएर अघि बढ्नुपर्छ,’ उनले भने, ‘तर तपाईंहरूले ध्यान दिनुपर्ने कुरा के हो भने भुँइको टिप्न खोज्दा पोल्टामा नपोखियोस् । पार्टीमा छलफल र संवाद गरेर अघि बढ्नुहोला ।’

महामन्त्री थापाले कांग्रेस एक्लै चुनाव लड्न सक्ने भएपनि तालमेल गर्ने नाउँमा कम्युनिष्टहरू फेरि नाटकीय एकता गर्न सक्ने भएकाले त्यस्तो हुन नदिनका लागि समेत कांग्रेसले केही पार्टीहरूलाई साथै लिएर अघि बढेको बताए ।

प्रतिक्रिया दिनुहोस्