Logo

तीनकुने घटनामा मुद्दा खेपिरहेका सबैको खर्च राप्रपाले व्यहोर्ने



काठमाडौं, २९ बैशाख । तीनकुने घटनामा पक्राउ परेका सबैको जिम्मेवारी राप्रपाले लिने भएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले प्रहरी हिरासतमा रहेका देशभक्त-राष्ट्रवादी बन्दीहरूको कानूनी प्रक्रियामा राप्रपाले सघाउने निर्णय गर्नुभएको हो ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले हिजो बसेको संयुक्त जनआन्दोलन समितिको बैठकमा पार्टी अध्यक्ष लिङदेनले यस्तो घोषणा गरेको बताउनुभयो । यससँगै पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायत तीनकुनेको हिंसात्मक घटनामा पक्राउ परेका सबैको कानूनी प्रक्रियामा लाग्ने आर्थिक दायित्वसमेत राप्रपाले व्यहोर्ने छ ।

अध्यक्ष लिङदेनले यसका लागि आवश्यक तयारी गर्न राप्रपा सम्बद्ध कानून व्यवसायी संगठन र अधिवक्ताहरूलाई आग्रह समेत गर्नुभएको छ । राप्रपाले गरेको यो जिम्मेवारीबोधको राजावादी नेताहरूले प्रशंसा गरेका छन् ।

तीनकुनेमा १५ चैतमा भएको राजावादी आन्दोलनको आयोजना दुर्गा प्रसाईँ नेतृत्वको नागरिक बचाउ महाअभियानले गरेको थियो । तर, जसको अपनत्व संयुक्त जनआन्दोलन समितिले समेत लिएको थिएन । मुख्य आयोजक दुर्गा प्रसाईँ पनि प्रहरी हिरासतमा छन् ।

प्रतिक्रिया दिनुहोस्