Logo

तीनवटा जहाज खरिद प्रस्ताव मन्त्रिपरिषद्मा



काठमाडौँ, १९ असोज । सरकारले नेपाल वायुसेवा निगमका लागि तीनवटा जहाज किन्ने तयारी थालेको छ । लगातार घाटामा गएको निगमलाई उकास्न तीनवटा जहाज आवश्यक परेको भन्दै सरकारले त्यस्तो तयारी अघि बढाएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले निगमका लागि तीनवटा जहाज खरिद प्रक्रिया अघि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग प्रस्ताव मागेका थिए । मन्त्रालयले सो प्रस्ताव एक साताअघि मन्त्रिपरिषद्मा पठाएको छ ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले प्रधानमन्त्री दाहाल अमेरिका तथा चीन भ्रमणमा जानुअघि सिंहदरबार पुगेर तीनवटा विमान खरिद गर्नुपर्ने प्रस्ताव गरेका थिए । सोही प्रस्तावका आधारमा पर्यटनमन्त्री सुदन किरातीलाई प्रधानमन्त्रीले जहाज खरिदको प्रस्ताव ल्याउन निर्देशन दिएका थिए । सोहीबमोजिम मन्त्रालयले जहाज खरिदको प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको हो ।

एयरबस ३२० र वाइडबडी ए ३३० जहाज खरिदमा लिएको ऋणको किस्ता र ब्याज समयमा भुक्तानी गर्न नसकिरहेका बेला सरकारले थप तीनवटा जहाज खरिद गरेर अन्तर्राष्ट्रिय उडानमा लगाउने तयारी गरेको हो । मन्त्रालयले दुई साताअघि जहाज खरिद गर्ने विषयमा औपचारिक रूपमा छलफल गरेको स्रोतको दाबी छ । प्रधानमन्त्री कार्यालयले समेत जहाज खरिद गर्ने विषयमा राय मागेको थियो ।

मन्त्रालयले नेपालको प्रचलित कानुनअनुसार निगमबाट प्रक्रिया अघि बढाउन मिल्ने राय दिएको थियो। ‘विमान खरिदको विषयमा हामीलाई राय मागिएको थियो । मन्त्रालयमा छलफल गरेर प्रचलित कानुनअनुसार नेपाल वायुसेवा निगमबाटै खरिद गर्न मिल्ने र प्रक्रिया पनि उतैबाट अघि बढाउन सकिने राय दिएका थियौं,’ मन्त्रालयका एक उच्च अधिकारीले भने ।

उनका अनुसार निगमका कार्यकारी अध्यक्ष अधिकारीले जहाज किन्ने विषयमा प्रधानमन्त्रीलाई ‘कन्भिन्स’ गरेका थिए । करिब तीन साताअघि निगमका कार्यकारी अध्यक्ष अधिकारीले प्रधानमन्त्री दाहाल र पर्यटनमन्त्री किरातीलाई राखेर निगमको वर्तमान अवस्था र दायित्वबारे ब्रिफिङ गर्दै तीनवटा जहाज खरिद गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।

प्रधानमन्त्रीले त्यसै दिन जहाज खरिद गर्न सरकार तयार रहेको बताउँदै खरिद प्रस्ताव पठाउन मन्त्रीलाई निर्देशन दिएको स्रोतको भनाइ छ । सरकारले राष्ट्रबैंकका पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा बनेको नेपाल वायुसेवा निगमको संरचनागत एवं व्यवस्थापकीय अध्ययन तथा सिफारिस समिति २०८० को प्रतिवेदनले दिएको रिपोर्टमा सोल्टी होटलको सेयर बेचेर जहाज किन्न सुझाएको थियो । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्