Logo

तीन सिट जितेर श्रम संस्कृति पार्टी पाचौँ स्थानमा, बन्ला राष्ट्रिय दल ?



काठमाडौं, २४ फागुन । श्रम संस्कृति पार्टी ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन वटा निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ। पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) सुनसरी–१ बाट निर्वाचित भएका छन्।

हर्कराज राईले ३४ हजार ७४१ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी की उम्मेदवार गोमा तामाङ ले २७ हजार २४९ मत प्राप्त गरिन्।

त्यस्तै भोजपुर बाट श्रम संस्कृति पार्टीका ध्रुवराज राई विजयी भएका छन्। उनले नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सचिव शेरधन राई लाई पराजित गरेका हुन्। ध्रुवराज राईले १६ हजार ६६३ मत ल्याउँदा शेरधन राईले १४ हजार ७५० मत प्राप्त गरेका छन्।

यसैगरी खोटाङ–१ बाट पनि श्रम संस्कृति पार्टीका युवा उम्मेदवार आरेन राई विजयी भएका छन्। उनले १६ हजार ६१२ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका देवविक्रम राई ले १२ हजार ७१४ मत प्राप्त गरेका छन्।

कोशी प्रदेश मा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उत्साहजनक नतिजा ल्याइरहेको देखिएको छ। देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये यस पार्टीले १०९ क्षेत्रमा उम्मेदवार उठाएको थियो।

हालसम्मको नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ११८ सिटसहित पहिलो स्थानमा रहेको छ भने नेपाली कांग्रेस १७ सिटसहित दोस्रो स्थानमा रहेको छ। त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले ७ सिट जितेको छ भने केही क्षेत्रमा अग्रता कायम राखेको छ।

समानुपातिकतर्फ श्रम संस्कृति पार्टीले हालसम्म ७१ हजार ५७१ मत प्राप्त गरेको छ। देशभर मतगणना जारी रहेकाले उक्त पार्टीले थ्रेसहोल्ड पार गर्ने सम्भावना अझै कायम रहेको विश्लेषण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्