काठमाडौँ, ६ कात्तिक । त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले यूएईलाई ५ विकेटले हराएको छ ।
यूएईले दिएको १ सय ६५ रनको लक्ष्य नेपालले १९ ओभर २ बलमा ५ विकेट गुमाएर भेटाएको हो ।
नेपालका आसिफ शेखले अर्धशतक बनाए । उनी ५० बलमा ६२ रन बनाएर आउट भए । यस्तै कप्तान रोहित पौडेलले ४७ र दीपेन्द्रसिंह ऐरीले १५ बलमा नटआउट ४० रन बनाए । बलिङतर्फ यूएईका मुहम्मद जवदुल्लाहले २ विकेट लिएका थिए ।
यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६४ रन बनायो । यूएईका बसिर अहमद र वृत्य अरविन्दले समान ४५ रन बनाए । बलिङतर्फ नेपालका सोमपाल कामी र अविनाश बोहोराले २-२ तथा गुलसन झा र करण केसीले १-१ विकेट लिएका थिए ।
अब शृङ्खलाअन्तर्गत समूहको अन्तिम खेलमा बुधवार हङकङ र यूएईबीच खेल हुनेछ ।