काठमाडौँ, १ फागुन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आईसीसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत नामिबिया, स्कटल्यान्ड र आयोजक नेपालबीच हुने त्रिदेशीय शृङ्खलामा सुखद नतिजा निकाल्नका लागि टोली तयार रहेको बताएका छन् ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रतियोगिता सुरु हुनुअघि आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली टोलीका कप्तान रोहितले नयाँ प्रशिक्षकसँगको १० दिने अभ्यासले खेलाडीको मनोबल उच्च भएको भन्दै सुखद नतिजा निकाल्न टोली तयार भएको बताएका हुन् ।
एक हप्ताअघि मात्र औपचारिकरूपमा नियुक्त भएका प्रशिक्षक मोन्टी देशाईसँग आफूले उमेर समूहका धेरै खेल खेलिसकेको र नयाँ प्रशिक्षक भए पनि घुलमिल सहजै भएको रोहितको भनाइ छ । घरेलु मैदानमा हुने शृङ्खला निकै महत्त्वपूर्ण रहेको भन्दै घरेलु मैदानको भरपुर सदुपयोग गर्ने उनले बताए ।