झापा, १३ फागुन । विभागीय टोली त्रिभुवन आर्मी प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
मेची रंगशालामा शनिबार भएको खेलमा अर्को ए डिभिजन टोली संकटा क्लबलाई पराजित गर्दै आर्मीले फाइनलको यात्रा तय गरेको हो ।
फाइनल पुगेसँगै आर्मीले कम्तिमा ७ लाख रुपैयाँ पक्का गरेको छ । निर्धारित ९० मिनेटको समयमा ०-० को बराबरीमा टुंगिएपछि खेलमा १४ मिनेट समय थप गरिएको थियो । थप गरिएको समयको ११ औँ मिनेटमा आर्मीका चेतन केसीले गोल गर्दै संकटालाई आर्मीले १-० ले पराजित गरेको थियो ।
आर्मीले पाएको फ्रि-किकलाई केसीले सदुपयोग गरे । सन्तोष केसीको फ्रि-किकलाई उनले जाली चुमाए । जितसँगै आर्मीले उपाधिका लागि मछिन्द्र क्लब र एपिएफ फुटबल क्लबबीचको विजेतासँग मंगलबार खेल्नेछ ।
शनिबारको खेलको प्लेयर अफ द म्याच सुरज बस्नेत घोषित भए । उनले नगद २० हजार पुरस्कार पाए । आइतबार हुने अन्तिम सेमिफाइनल खेल मछिन्द्र क्लब र विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ ।
गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउने आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिए ।





