Logo

त्रिविको अनौठो शैक्षिक पात्रो: नतिजाको सुरसार छैन नयाँ भर्नाको आह्वान



काठमाडौँ, १० पुस । त्रिभुवन विश्वविद्यालयले स्नातक तहका सम्पूर्ण विषय र वर्षका परीक्षा नतिजा सार्वजनिक नगरी स्नातकोत्तर तहको भर्ना आह्वान गरेको छ ।

स्नातक तहको परीक्षाफल सार्वजनिक गर्ने परीक्षा नियन्त्रण कार्यालय र स्नातकोत्तर तहको भर्ना आह्वान गर्ने शिक्षाध्यक्षको कार्यालयबीच समन्वय नहुँदा विद्यार्थी भने अन्योलमा छन् । स्नातकोत्तर तहको भर्ना शिक्षाध्यक्ष कार्यालयअन्तर्गतको सम्बन्धित डिन कार्यालयले गर्छ ।

नतिजा नआउँदै शिक्षाध्यक्षको कार्यालयले स्नातकोत्तर तहको भर्ना फाराम खुलाएपछि के गर्ने भन्ने विषयमा विद्यार्थी तथा कलेज सञ्चालक चिन्तित छन् । कलङ्कीस्थित एडमार्क कलेजका प्राचार्य शिव अधिकारीले भने, “त्रिविको भद्रगोलपाराले विद्यार्थीलाई निकै समस्यामा पारयो ।

यसै त स्वदेशमा विद्यार्थी टिकाउन मुस्किल भइरहेको छ । त्यसमाथि मुलुकको प्रतिष्ठित विश्वविद्यालयको लथालिङ्गपाराले विद्यार्थीलाई थप निरुत्साहित बनाएको छ ।”

परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक घनश्याम ठाकुरले भने त्रिविका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा यसै वर्ष स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन गर्नुपर्ने भएको र सोहीअनुसार शैक्षिक तालिका निर्धारण गर्नुपर्ने भएकाले हतारमा भर्ना खुलाउनुपरेको बताए ।

स्नातकोत्तर तहमा भर्ना फाराम भर्ने अन्तिम दिनसम्ममा नियमिततर्फका सबै विषय र सङ्कायका अन्तिम वर्षको नतिजा सार्वजनिक गर्ने लक्ष्य रहेको उनले बताए। “अहिले भर्ना फाराम खुलाउँदै गरौँ । यही बीचमा नतिजा सार्वजनिक गरौँ भन्ने विषयमा छलफल गरेर भर्ना खुलाएका हौँ,” ठाकुरले भने ।

त्रिवि शिक्षाध्यक्षको कार्यालयले जारी गरेको सूचनाअनुसार स्नातकोत्तर तहमा मानविकी तथा सामाजिकशास्त्र, व्यवस्थापन, शिक्षाशास्त्र र विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गका क्याम्पसमा भर्ना आह्वान गरेको हो । जसअनुसार पुस ४ देखि माघ ४ गतेसम्म आवेदन फाराम वितरण तथा बुझाउने मिति तोकिएको छ । माघ २२ गतेदेखि पढाइ सञ्चालन गरिने त्रिविले जनाएको छ। प्रवेश परीक्षा सम्बन्धित डिन कार्यालयले आफू अनुकूल निर्धारण गर्न सक्नेछन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्