काठमणडौ, २ फागुन । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले कार्यालयबाट उपलब्ध हुने सबै प्रमाणपत्रको फाराम ‘अनलाइन’ बाटै भर्ने व्यवस्था गर्न थालेको छ । ट्रान्सक्रिप्टलगायतका सबै प्रमाणपत्रका लागि घरबाटै नै फाराम भर्ने व्यवस्था गर्न थालिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो । आउँदा चैतदेखि कुनै पनि प्रमाणपत्रका लागि कार्यालय नआउने गरी अनलाइन फाराम भर्ने व्यवस्था गर्न थालिएको उहाँले बताउनुभयो ।
त्रिवि पनिकाले यसअघि पनि ट्रान्सक्रिप्टका लागि अनलाइन फाराम भर्ने व्यवस्था गरे पनि सफल हुन सकेको थिएन । अनलाइन फारामका लागि नयाँ सर्भर बनाएर सफ्टवेयर जोड्ने काम अबको दुई हप्तामा सकिनेछ । त्यसपछि विद्यार्थीले जहाँसुकैबाट अनलाइनमार्फत सेवा लिन सक्न परीक्षा नियन्त्रक जोशीले जानकारी दिनुभयो ।
यो व्यवस्था भएमा ट्रान्सक्रिप्ट, पुनर्याेग, चारित्रिक प्रमाणपत्रलगायत काम अनलाइनमार्फत हुनेछन् । जोशीले अनलाइन फाराम भरेका विद्यार्थीका प्रमाणपत्र पनिकाका क्षेत्रीय कार्यालयमा पठाउने समेत बताउनुभयो । पनिकाले यसअघि सम्बन्धित क्याम्पसबाट लब्धाङ्क पत्र अर्थात् मार्कसिट प्रिन्ट गर्ने व्यवस्था गरिसकेको छ ।
गत भदौबाट सबै क्षेत्रीय कार्यालयबाट उत्तरपुस्तिका परीक्षणको कामसमेत शुरु भइसकेको छ । अब बिस्तारै क्षेत्रीय कार्यालयबाट नै प्रमाणपत्र प्रिन्ट गरेर विद्यार्थीलाई दिने व्यवस्थासमेत गरिने पनिकाले जनाएको छ ।