काठमाडौँ, २९ असार । नारायणगढ–मुग्लिन सडक अन्तर्गत सिमलतालमा आएको लेदोसहितको पहिरोका कारण यात्रुसहित त्रिशूलीमा बेपत्ता दुई वटा बसको खोजी पुन स्शुरु गरिएको छ ।
शुक्रबार बिहानैबाट त्रिशूलीमा खसेका बस खोजिए पनि साँझसम्म नभेटिएकाले राति स्थगित गरिएको खोजी कार्य आज बिहान ८ बजेबाट पुन शुरु गरिएको हो ।
प्रहरीका अनुसार वीरगन्जबाट आएको एन्जल गाडीको पर्दा र दश वर्ष भन्दा सानो बालकले लगाउने ट्याग सुट भेटिएकाले सो बसको लोकेसन त्यही हो की भन्ने अनुमान गर्न सकिने बाहेक खोजीमा अन्य कुनै घटनाक्रम विकास भएको छैन ।
आजको खोजी यसैलाई केन्द्रित भएर गरिने प्रहरीले जनाएको छ । खोजी कार्यमा पानीभित्र गएर खोजी र उद्धार गर्न तालिम प्राप्त नेपाली सेना र सशस्त्र प्रहरी बलका गोताखोरसहितको दक्ष टोली खटेको छ ।
भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००६ख १५१६ नम्बरको एञ्जल डिलक्स बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिराले त्रिशूलीमा बगाएको थियो ।
त्रिशूलीमा बेपत्ता बस र यात्रु खोजीमा ड्रोन क्यामरा प्रयोग
शुक्रवार बिहान पहिरोसँगै बगेर त्रिशूली नदिमा बेपत्ता भएको बस र यात्रुको खोजीका लागि पानी भित्र हेर्न मिल्ने ड्रोन क्यामरा समेत प्रयोग गरिएको छ । सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार बिहानै देखि खोजीमा गोताखोर सहितको टोली परिचालन गरिएको र पानी मुनी हेर्न मिल्ने ड्रोन क्यामरा प्रयोग गरिएको बताउनुभयो ।
टोलीले त्रिशूली नदिमा सोनार क्यामरा, वाटर ड्रोन, पाइपलाइन इन्सपेक्सन सिस्टम सहित खोजी कार्य सुरु गरेको प्रहरीले जनाएको छ । र्याफ्टबोटमा जडान गरेर पानी भित्रको बस्तुहरू हेर्न सोनार क्यामराले सहयोग पुर्याउने जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ९ जना गोताखोरसहित २५ जना र नं १७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्त सहित ३५ जनाको सुरक्षा फौज उनीहरूको खोजी कार्यमा परिचालित भएको छ । साथै नेपाली सेना र नेपाल प्रहरी समेत परिचालित रहेका छन् ।
वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालबाट त्रिशूली नदिमा खसेको थियो ।