काठमाण्डाै, २५ माघ । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि थाइल्यान्डले जितेको छ । आज भएको शृङ्खलाको अन्तिम खेलमा नेपाललाई ७ विकेटले हराउँदै शीर्ष स्थानमा रहेर थाइल्यान्डले उपाधि जितेको हो ।
नेपालले दिएको ८२ रनको लक्ष्य थाइल्यान्डले १७ ओभरमा ३ विकेट गुमाएर भेटायो । थाइल्यान्डका कप्तान नरुमोल चाइवाईले २७, नन्नापट सुवनचोन्रथीले २३ रन बनाए । नेपालकी कप्तान इन्दु बर्माले २, पूजा महतोले १ विकेट लिए ।
यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ८१ रन बनायो । नेपालकी सम्झना खड्काले सबैभन्दा धेरै १७ रन बनाइन् । थाइल्यान्डकी ओनिचा कम्चोम्फुले ३ विकेट लिइन् ।
थाइल्यान्ड ६ खेलमा १० अङ्कसहित तालिकाको शीर्ष स्थानमा रह्यो । यस्तै नेदरल्यान्ड्स ६ खेलमा ८ अङ्कसहित दोस्रो स्थानमा र नेपाल ६ वटै खेल हारेर अङ्कविहीन हुँदै पुछारमा रह्यो । नेपालले थाइल्यान्ड र नेदरल्यान्ड्ससँग ३/३ पटक हार बेहाेर्याे ।