थाइल्याण, २७ असार । थाईल्याण्डका प्रधानमन्त्री प्रयुत चान-ओ-चालले राजनीतिक जीवनबाट सन्यासको घोषणा गरेका छन् ।
यद्यपि उनले नयाँ सरकार गठन नभएसम्म प्रधानमन्त्रीका रूपमा काम गर्ने बताएका हुन् ।
युनाइटेड थाई नेसन (यूटीएन) दलको आधिकारिक फेसबुक पेजमार्फत उनले एक विज्ञप्ति निकालेर अब यूटीएनको सदस्यबाट राजीनामा दिएर राजनीतिक जीवन त्याग गरेको घोषणा गरेका छन् ।
उनले देश, धर्म र राजतन्त्रका संस्थाहरूको रक्षा गर्न आग्रह पनि गरेको समाचार संस्था एएफपीले जनाएको छ ।
थाई संसद्मा नयाँ प्रधानमन्त्रीका लागि मतदान हुनु केही दिन अघि वर्तमान प्रधानमन्त्रीको सन्यास घोषणा भएको हो ।





