
काठमाडौँ, १ असार । आईसीसी टी–२० विश्वकपमा शनिबार नेपालले बलियो प्रतिद्वन्द्वी दक्षिण अफ्रिकाको सामना गर्दैछ । खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।
उक्त खेल किङ्सटाउनस्थित १८ हजार दर्शक क्षमताको आर्नोस भेल स्टेडियममा नेपाली समय अनुसार अहिले ०५ः१५ बजे सुरु हुनेछ । टी–२० क्रिकेटमा नेपाल र दक्षिण अफ्रिकाको यो पहिलो भेट हो ।
प्रतियोगिताको अघिल्लो चरणमा प्रवेश गर्न नेपाललाई खेल जित्नै पर्ने दबाब छ । दक्षिण अफ्रिका भने यसअघि नै सुपर आठमा प्रवेश गरिसकेको छ ।
नेपाल र दक्षिण अफ्रिका विश्वकपको समूह ‘डी’ मा रहेका छन् । यो समूहमा बंगलादेश, श्रीलंका र नेदरल्याण्ड्स पनि छन् । यी मध्ये श्रीलंका समूह चरणबाटै बाहिरी सकेको छ भने अन्य टोलीको सुपर आठमा पुग्ने सम्भावना कायमै छ ।
दक्षिण अफ्रिका तुलानात्मक रुपमा नेपाल भन्दा बलियो टोली हो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा नेपाल १७ औं स्थानमा छ । दक्षिण अफ्रिका भने नेपाल भन्दा दश स्थान माथि सातौं स्थानमा छ ।
यसअघि आफ्नो दोस्रो खेलमा वर्षा बाधक भन्दा नेपालले श्रीलंकासँग अंक बाँडेको थियो । पहिलो खेलमा भने नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो।







