Logo

दक्षिण अफ्रिकासँगकाे दाेस्राे टेस्ट क्रिकेटमा भारत विजयी



दक्षिण अफ्रिका, १९ पुस । दक्षिण अफ्रिकासँगको दोस्रो टेस्ट क्रिकेटमा भारत ७ विकेटले विजयी भएको छ । योसँगै २ खेलको शृङ्खलामा १-१ को बराबरी भएको छ । पहिलो खेलमा दक्षिण अफ्रिका एक इनिङ्स र ३२ रनले विजयी भएको थियो ।

दक्षिण अफ्रिकाले दिएको ७९ रनको लक्ष्य भारतले दोस्रो दिनको खाना समयपछि ३ विकेट गुमाएर भेटायो । भारतका यशस्वी जयसवालले २८ रन बनाए । यस्तै कप्तान रोहित शर्मा १७ रनमा नट आउट रहे । बलिङतर्फ दक्षिण अफ्रिकाका कागिसो रबाडा, नान्द्रे बर्गर र मार्को जनसेनले समान १ विकेट लिएका हुन् ।

दक्षिण अफ्रिका दोस्रो इनिङ्समा १ सय १ सय ७६ रनमा अल आउट भएको थियो । दोस्रो इनिङ्समा दक्षिण अफ्रिकाका एडन मार्करमले शतक बनाए । मार्करम १ सय ३ बलमा १ सय ६ रन बनाएर आउट भए । बलिङतर्फ भारतका जसप्रीत बुमराहले ६ विकेट लिए । दक्षिण अफ्रिका पहिलो इनिङ्समा ९८ रनले पछि पर्दा समग्रमा ७८ रनको अग्रता लिएको थियो ।

यसअघि केपटाउनमा टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिका पहिलो इनिङ्समा ५५ रनमै अल आउट भएको थियो । दक्षिण अफ्रिकाका केल भेरेनेले सर्वाधिक १५ रन बनाए । यस्तै यस्तै डेभिड बेडिङघमले १२ रन जोडे । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ भारतका मोहम्मद सिराजले ६ विकेट लिएका हुन् ।

भारतले पहिलो इनिङ्समा १ सय ५३ रन बनाएको थियो । भारतका विराट कोहलीले सर्वाधिक ४६ रन बनाए । यस्तै कप्तान रोहित शर्माले ३९ र शुभमन गिलले ३६ रन जोडे । बलिङतर्फ दक्षिण अफ्रिकाका कागिसो रबाडा, लुङ्गी एनगिडी र नान्द्रे बर्गेरले समान ३ विकेट लिए । भारतले पहिलो पारीमा ९८ रनको अग्रता लिएको थियो ।

यो जितसँगै भारतले केपटाउनमा इतिहास रचेको छ । भारत केपटाउनमा टेस्ट क्रिकेट जित्ने पहिलो एसियाली देश बनेको छ ।

प्रतिक्रिया दिनुहोस्