काठमाडौं, १ मंसिर । दक्षिण अफ्रिकासँगको चार खेलको टी–२० क्रिकेट शृङ्खला भारतले जितेको छ । गएराति भएको चौथो तथा अन्तिम खेलमा १ सय ३५ रनको फराकिलो अन्तरले विजयी भएसँगै शृङ्खला भारतले जितेको हो ।
जोहानेशवर्गमा भारतले दिएको २ सय ८४ रनको विशाल लक्ष्य पछ्याएको घरेलु टोली १८ ओभर २ बलमा १ सय ४८ रनमा अलआउट भयो । उसका ट्रिस्टन स्टब्सले सर्वाधिक ४३ रन बनाए । भारतका अश्रदीप सिंहले तीन विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको भारतले जम्मा एक विकेट गुमाएर दुई सय ८३ रन बनाएको थियो । उसका तिलक बर्माले नटआउट १ सय २० र सञ्जु सामसनले १ सय ९ रन बनाए । अभिषेक शर्माले ३६ रन बनाए ।
यो शृङ्खलाको पहिलो खेल भारतले जितेको थियो भने दोस्रो खेल दक्षिण अफ्रिकाले जित्यो । त्यसपछि तेस्रो र चौथो खेलमा लगातार भारत विजयी भएको हो ।