न्युजिल्यान्ड, १७ साउन । दक्षिण अफ्रिका फिफा महिला विश्वकप फुटबल २०२३ को अन्तिम १६ मा पुगेको छ ।
बुधवार न्युजिल्यान्डको वेलिङ्टन रिजनल स्टेडियममा भएको खेलमा इटालीमाथि ३-२ गोलको रोमाञ्चक जित निकाल्दै दक्षिण अफ्रिका अन्तिम १६ मा पुगेको हो ।
दक्षिण अफ्रिकाका लागि बेनीडेटा ओर्सी, हिल्दाह मगाया र थेम्बी केगाटलानाले १-१ गोल गरे । इटालीका एरियाना करुसोले २ गोल गरिन् ।
इटालीले खेलको ११ मिनेटमै करुसोको गोलमार्फत अग्रता लिएको थियो । तर ३२ मिनेटमै दक्षिण अफ्रिकाले आत्मघाती गोल उपहार पाउँदा खेल बराबरीमा पुगेको थियो । फेरि दक्षिण अफ्रिकाले ६७ औँ मिनेटमा मगायाको गोलमार्फत अग्रता लिएको थियो । त्यसको ७ मिनेटपछि इटालीकी करुसोले अर्को गोल गर्दै खेल बराबरीमा ल्याइन् । तर इन्ज्युरी समयको २ मिनेटमै केगाटलानाले गोल गर्दै दक्षिण अफ्रिकालाई जिताइन् ।
यो जितसँगै दक्षिण अफ्रिका ४ अङ्कसहित समूह ‘जी’ को उपविजेता बनेको छ । इटली ३ अङ्कसहित तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।