झापा, २९ फागुन । दमकको कदम थिएटरले आजदेखि एक सातासम्म “लङ टाईम नो सी” मञ्चन गर्ने भएको छ । साहित्यकार नयनराज पाण्डेको कथा महानगरलाई नाट्य रुपान्तरण गरेर बनाईएको नाटक दिपक खरेलले निर्देशन गरेका छन् ।
दमकमा नियमित नाटक मञ्चन गरिरहेको कदम थिएटरले नाटक ‘लङ टाईम नो सी’ फागुन २९ गते सोमबार देखि चैत ६ गते सम्म नियमित रुपमा मञ्चन गर्ने भएको छ ।
पछिल्लो समयमा मानिसबीचको सम्बन्ध कसरी बिग्रिदै गएको भन्ने कथालाई दमकको परिवेशमा रुपान्तरण गरी नाटक तयार गरिएको कदम थिएटरका उपाध्यक्ष तथा कलाकार चोमु शेर्पाले बताइन् ।
नाटकमा अग्रज रंगकर्मी सुवास खरेल, पासाङ चोमु शेर्पा, मनिक शंकर, नविन रिजाल, रश्मी उप्रेती, शिखर लाम्गादे लगायतका कलाकारको अभिनय छ भने युसन वान्तावा राई र सुजन भण्डारीको प्रत्यक्ष वाद्यवादन रहनेछ ।