झापा, ११ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट झापा-५ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र साहले सोमबारदेखि दमकमा घरदैलो कार्यक्रम थाल्ने भएका छन्। पार्टीका अनुसार बिहान ८ बजेदेखि सुरु हुने कार्यक्रममा सहभागी हुन समर्थकहरूलाई दमक–९ स्थित उराव बस्तीमा भेला हुन आग्रह गरिएको छ।
घरदैलो कार्यक्रम उराव बस्तीबाट सुरु भई पाणिनि स्कुल हुँदै देवसिंह टोल, नौभाइ चोक र बुद्ध चोकको परिक्रमा गर्दै पुनः उराव बस्तीमै आएर समापन गरिने बालेन्द्रको सचिवालयले जनाएको छ।
कार्यक्रमका क्रममा उम्मेदवार साहले स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको समस्या, गुनासा र अपेक्षा सुन्ने तथा आफ्नो चुनावी प्रतिबद्धता र भावी योजनाबारे जानकारी दिने बताइएको छ। रास्वपाले स्थानीय बासिन्दा र समर्थकहरूलाई सक्रिय सहभागिताका लागि आह्वान गरेको छ।
यसैबीच, बालेन्द्र साह शनिबार काठमाडौं फर्किएसँगै उनकी श्रीमती सविना काफ्ले दमक आइपुगेकी छन्। पार्टीका नेताहरूका अनुसार उनको उपस्थितिले स्थानीय स्तरमा चुनावी अभियानलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।







