झापा, १६ जेठ । झापाको दमकमा एक महिलाको शव शंकास्पद अवस्थामा फेला परेपछि प्रहरीले घटनाको अनुसन्धान थालेको छ।
दमक–१० स्थित सेतुमारी पुलमुनि रहेको रतुवा खोलामा बोराभित्र बाँधिएको अवस्थामा महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। शनिबार बिहान करिब ११ बजे स्थानीयले शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए।
प्रहरीका अनुसार करिब ३० देखि ३२ वर्ष उमेरकी देखिने महिलाको शव सेतो प्लास्टिकको बोरामा पोको पारिएको अवस्थामा फेला परेको हो। शवको केही भाग, विशेषगरी कपाल र हात बाहिर देखिएको थियो भने शरीरको बाँकी भाग बोराभित्र रहेको बताइएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा मृतकले रातो भेस्ट र जिन्स पाइन्ट लगाएको पाइएको छ। शव दुई–तीन दिनअघि नै पानीमा परेको हुनसक्ने अनुमान गरिएको छ। हालसम्म मृतकको पहिचान खुल्न सकेको छैन।
प्रहरीले घाँटीमा पाइप वा यस्तै वस्तुले कसेको जस्तो चिन्ह देखिएकाले हत्या गरी शव खोलामा फालिएको हुनसक्ने आशंका गरेको छ। शव बगेर आएको भन्दा पनि पुलमाथिबाट फालिएको हुनसक्ने प्रारम्भिक अनुमान अनुसन्धानकर्ताहरूले गरेका छन्।
घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायव उपरीक्षकको नेतृत्वमा टोली परिचालन गरिएको छ। साथै, प्रादेशिक अस्पताल भद्रपुरका फरेन्सिक विशेषज्ञसहितको टोलीले घटनास्थलको परीक्षण गरेको छ।
कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीले मृतकको पहिचान खुल्न नसकेको भन्दै चिन्ने व्यक्ति, आफन्त वा छिमेकीलाई नजिकको प्रहरी कार्यालय वा प्रहरी सम्पर्क नम्बरमा जानकारी गराई अनुसन्धानमा सहयोग गर्न अनुरोध गरेको छ। हाल घटनाबारे थप अनुसन्धान जारी रहेको जनाइएको छ।








