Logo

दमकमा राजनीतिक हलचल, एमालेनिकट युवा संघका दुई पदाधिकारी रास्वपामा प्रवेश



काठमाडौं, ७ माघ । नेकपा एमालेनिकट राष्ट्रिय युवा सङ्घ नेपाल, दमक नगर कमिटीका अध्यक्ष र उपाध्यक्ष राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। रास्वपाका वरिष्ठ नेता बालेन शाहले दमकमा आयोजित कार्यक्रममा युवा संघका अध्यक्ष छवि खतिवडा र उपाध्यक्ष विजय तामाङलाई औपचारिक रूपमा पार्टीमा स्वागत गरेका हुन्।

झापा निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग चुनावी प्रतिस्पर्धामा रहेका शाहले पार्टी विस्तार र मतदाता भेटघाटलाई तीव्र बनाउँदै आएका छन्। सोही क्रममा युवा नेतृत्वको प्रवेशलाई उनले वैकल्पिक र परिवर्तनकारी राजनीतिक धारप्रति बढ्दो आकर्षणको संकेतका रूपमा व्याख्या गरे।

नवप्रवेशी अध्यक्ष खतिवडाले परिवर्तनलाई आत्मसात् गर्दै बाँकी राजनीतिक यात्रा स्वतन्त्र र जनमुखी ढंगले अघि बढाउने घोषणा गरे। उनले झापा–५ मा नयाँ राजनीतिक विकल्पको आवश्यकता औंल्याउँदै बालेन शाहको अभियानमा सक्रिय रूपमा संलग्न रहने प्रतिबद्धता व्यक्त गरे।

खतिवडाले मतदातालाई पनि परिवर्तनको पक्षमा उभिन आह्वान गर्दै युवाको सहभागिताले राजनीतिक संस्कार सुधारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

यस घटनासँगै झापा–५ मा चुनावी सरगर्मी थप बढेको छ भने दलहरूबीचको प्रतिस्पर्धा नयाँ मोडमा प्रवेश गरेको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ।

प्रतिक्रिया दिनुहोस्