Logo

दमकलाई पराजित गर्दै झापा गाउँपालिका बन्यो च्याम्पियन



कनकाई, ८ माघ । झापाको सुरुङ्गामा भएको प्रदेश नं.१ स्तरीय अन्तरपालिका पुरुष भलिबल प्रतियोगिताको उपाधि झापा गाउँपालिकाले हात पारेको छ ।

कनकाई माविको खेल मैदानमा सम्पन्न प्रतियोगिताको फाइनल खेल दमक नगरपालिका र झापा गाउँपालिका विच भएको हो । अघिल्लो दोस्रो संस्करणमा समेत उपाधिका लागि यी दुई पालिकाले फाइनल खेल खेलेका थिए ।

झापा गाउँपालिकाले गत वर्षको पराजयको बद्ला लिँदै उपाधि जितेको हो । गत वर्ष दमकसँग पराजय भोग्दै उपविजेतामा चित्त बुझाएको झापा गाउँपालिकाले यस वर्ष बदला लिएको हो । झापाले दमकमाथि सोझो सेटमा जित निकाल्दै उपाधि उचालेको हो ।

पहिलो सेट २६-२४ ले जितेको झापाले दोस्रो सेटमा २५-२३ र तेस्रो सेटमा २५-२२ को शानदार जित हात पार्दै उपाधि कब्जा गरेको छ । जितसँगै झापाले नगद एक लाख एघार हजार हात पारेको छ ।

त्यस्तै उपविजेता दमकले नगद ६१ हजार प्राप्त गरेको छ । फाईनल खेलको म्यान अफ द म्याच झापाका रबिन गौतम भए । उनले नगद एक हजार हात पारे । उत्कृष्ट ब्लकर झापाकै रोहित शिवाकोटी भए भने उत्कृष्ट स्पाईकर झापाका समिप श्रेष्ठ, उत्कृष्ट कुईकर दमककै पुकार तामाङ र उत्कृष्ट लिफ्टर दमककै राजन लिम्बू हुँदा सर्वोत्कृष्ट खेलाडीको उपाधि झापाका विष्णु बस्नेतले २४ इन्चको रंगीन टि.भी पुरस्कार स्वरुप हात पारेको सुरुङ्गा जेसीज वर्ष २०२२ का महासचिव राजु पाठकले जानकारी दिए ।

प्रतियोगिताको विजेता तथा उपविजेतालाई आयोजक सुरुङ्गा जेसीजकी अध्यक्ष सुष्मा उप्रेती एवं कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य एवं प्रदेश मन्त्री भक्ति सिटौला, झापा गाउँपालिकाका प्रमुख जयनारायण शाह, उपाध्यक्ष अञ्जुदेवी थपलिया, कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटी लगायतले पुरस्कार प्रदान गरेका थिए ।

माघ ३ गते सुरु भइ ७ गते समापन भएको प्रतियोगितामा कनकाई नगर खेलकुद विकास समिति सह-आयोजकका रुपमा रहेको थियो । प्रतियोगितामा झापासहित मोरङ र इलाम गरी तीन जिल्लाका ८ टीमले भाग लिएको आयोजक सुरुङ्गा जेसीजका खेल संयोजक प्रतापबाबु जमरकट्टेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्