झापा, ११ असार । झापाको दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि मंगलबार एक कार्यक्रम बीच बजेट सार्वजनिक गरेको छ।
नगरपालिकाको १७औं नगर सभामा उपप्रमुख रेगिना भट्टराई प्रसाईले १ अर्ब ४७ करोडको बजेट प्रस्तुत गर्नु भएको हो ।
प्रस्तुत बजेटमा चालु र पुँजीगत खर्चको प्रतिशत हाराहारी रहेको छ । चालू खर्च ७१ करोड २९ लाख ५० हजार अर्थात ४८.५५ प्रतिशत प्रक्षेपण गरिएको छ भने पुँजीगत खर्च ७४ करोड ५० लाख ५० हजार अर्थात ५०.६५ प्रतिशत हुने प्रक्षेपण गरिएको छ ।
दमक अस्पतालका लागि विशेष विनियोजनका रुपमा ३९ करोड रुपैयाँ विनियोजना गरिएको छ । बजेटमा नगरपालिकाको आन्तरिक आम्दानी ३४ करोड ९१ लाख ५४ हजार रुपैयाँ हुने अनुमान गरिएको छ भने संघीय सरकारको अनुदान ७२ करोड ८४ लाख रुपैयाँ रहेको छ ।
प्रदेश सरकारको अनुदान ३ करोड ९३ लाख ८६ हजार रुपैयाँ र राजस्व बाँडफाँडबाट २९ करोड ३० लाख ५९ हजार रुपैयाँ राजश्व उठ्ने अनुमान गरिएको छ । त्यस्तै विभिन्न जनसहभागितामुलक योजनाहरुमा जनसहभागिता वापत १ करोड रुपैयाँ र दमक अस्पतालको बीमा दावी बाटः ३९ करोड रुपैयाँ प्राप्त हुने अनुमान छ ।
बजेटले सामाजिक समावेशीता, पूर्वाधार विकास, गुणस्तरीय सेवा प्रवाह, डिजिटल नगर निर्माण, वातावरण संरक्षण, स्वास्थ्य, शिक्षा, कृषि, विपद् व्यवस्थापन, युवा तथा महिला सशक्तिकरण, खेलकुद लगायतका क्षेत्रमा विशेष प्राथमिकता दिएको नगरपालिकाकी उपप्रमुख भट्टराईले उल्लेख गर्नुभयो ।
नगर प्रमुख रामकुमार थापाले बजेटले दमकलाई समावेशी, समृद्ध र प्रविधिमैत्री नगरको दिशामा लैजाने विश्वास व्यक्त गर्नुभएको छ ।
बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षदेखि संस्थागत घरबाहल कर बढाउने नगरसभाले कर बढाउने उपप्रमुख प्रसाईले बताउनुभयो ।
उहाँले यस अघि सबै घरबहाल कर २ प्रतिशत मात्र रहेकोमा आगामी आर्थिक वर्षदेखि सस्थागत घरबाहल कर १० प्रतिशत पुर्याउने प्रस्ताव दमक नगरसभामा पेश गर्नुभएको हो।