दमक, १२ असार । दमक नगरपालिकाले नगर भित्रका अति बिपन्न नागरिकको पहिचान गरि नगर सहुलियत कार्ड वितरण गर्ने भएको छ ।
नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईंले शुक्रबारको नगरसभामा प्रस्तुत गरेको आगामि आर्थिक बर्षको निति तथा कार्यक्रममा नगरभित्रका अति विपन्न नागरिकको पहिचान गरी सहुलियत कार्ड मार्फत विभिन्न सेवा प्रदान गर्न लागेको जनाईएको छ ।
गरिबी न्युनिकरणका लागि विपन्नता पहिचान कार्यविधिका आधारमा दमक नगरपालिकाभित्र स्थायी बसोबास गरेका अति विपन्न परिवारलाई नगर सहुलियत कार्ड मार्फत शिक्षा, स्वास्थ्य र खाद्यान्नमा सहुलियत प्रदान गरिने कार्यक्रम सञ्चालन गरिने निति तथा कार्यक्रममा जनाईएको छ ।
नगरका कोहि पनि नागरिकहरु भोकै नपरुन भनेर अति बिपन्न परिवारको पहिचान गरी सहुलियत प्रदान गर्न लागिएको नगर प्रमुख राम थापाले जानकारी दिए । यसका लागी नगर भित्रका कम्तीमा ३ सय अति विपन्न परिवार छनौट गरी परिवार संख्याको आधारमा तोकिएको मापदण्ड बमोजिम दैनिक उपभोग्य वस्तु वितरण गरिने नगर प्रमुख थापाले बताए ।