Logo

दरबार हत्याकाण्डको अनुसन्धान गरी निस्कर्षमा पुर्‍याउछौँ: प्रधानमन्त्री



काठमाडौँ, १६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्डको अनुसन्धान गरी निस्कर्षमा पुर्‍याउने बताएका छन् ।

मंगलबार नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिस डाँडामा भएको माओवादी सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले छानबिन गर्ने प्रतिबद्धता जनाएका हुन् ।

उनले ठूला हत्याकाण्डका नामले परिचित दरबार हत्याकाण्ड, गौर हत्याकाण्ड लगायतका हत्याकाण्डहरुको अुनसन्धान गरी निचोडमा पुग्ने बताए ।

उनले २०४६ सालको जनआन्दोलनपछिका सबै उच्चपदस्थ अधिकारीका सम्पत्ति विवरणबारे खोजीनीति गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले भ्रष्टाचारका काण्ड र ठूला हत्याकाण्डका बारेमा अनुसन्धान गरी निस्कर्षमा पुर्‍याउनुपर्ने र नागरिकलाई यसबारेका शंकाहरुको छिनोफानो गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।

उनले भने, ‘मैले सदनमा पनि भनेको छु अब भ्रष्टाचारका सबै फाइलहरु खोलिनेछन् । क्रमश: खुल्छन्‚ खुलाइन्छन् । मैले भनेको छु, २०४६ सालको ऐतिहासिक जनआन्दोलनपछिका सबै उच्चपदस्थ अधिकारीका सम्पत्ति विवरणहको बारेमा खोजीनीति गरिन्छ । ठूलाठूला भ्रष्टाचारका काण्ड भनेर जो स्थापित छन्, तिनको खोजीनीति गरिन्छ । ठूलाठूला भयानक हत्याकाण्डहरु छन्, ती हत्याकाण्डहरुको खोजिनीति गर्नुछ चाहे त्यो गौर हत्याकाण्ड होस् चाहे दरबार हत्याकाण्ड। त्यसको छिनोफानो भएको छैन। नेपाली जनताको मनमा धेरै ठूलाठूला शंकाहरु छन् । के भएको हो भन्ने कुराको सत्य तथ्य आएको छैन । यी सबै कुराहरु पनि हामीले क्रमश: लगेर नयाँ विश्वास जनतामा जगाउनु छ‚ अब केही हुन्छ र हुन सक्छ भनेर ।’

प्रतिक्रिया दिनुहोस्