काठमाडौँ, १ असोज । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले दलहरुबीच आरोप प्रत्यारोप गर्नुभन्दा हालसम्म भए गरेका काम र जनअपेक्षाको समीक्षा गर्नुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा उनले यो इतिहासले सुम्पिएको जिम्मेवारी हामीबाट कति पूरा भयो समीक्षा गर्ने बेला हो भने । “जनताले कसरी हेरिरहेको छ त्यो हेर्न जरुरी छ । राजनीतिक विकृतिहरुका समाचार आइरहेको अवस्थामा आफैँलाई हेर्न जरुरी छ । यही संसद्बाट निर्वाचित सरकारले संसद्लाई दुई पटक विघटन गर्न पुगे । धन्न हामीले जोगाउन सफल भयौँ”, उनले भने ।
अध्यक्ष भट्टराईले न्यायपालिका कति खोक्रो भएको रहेछ भन्ने अहिलेको महाअभियोग छानबिन समितिमा भइरहेको बयानका क्रममा सुनिएका कुराले थाहा हुन्छ भने । कतिपय काम नभएका होइन उपलब्धि भएका छन् तर जनअपेक्षाअनुसार काम हुन नसकेको उनले उल्लेख गरेका थिए ।







