काठमाडौँ, ३ असोज । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आउँदो मङ्सिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा चुनावको समानुपातिकतर्फको बन्दसूची सकेसम्म आजै बुझाइसक्न राजनीतिक दलहरूलाई आग्रह गरेका छन् ।
प्रमुख आयुक्त थपलियाले राजनीतिक दलहरूले आज बेलुकी ५ बजेभित्र आयोग परिसरभित्र प्रवेश गरी दुवै चुनावको समानुपातिकतर्फको बन्दसूची बुझाए राम्रो हुने धारणासमेत राखेका थिए ।
आयोग परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा थपलियाले त्यसका लागि आयोगले आवश्यक स्रोत र साधनको कमी हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए ।
उनले राजनीतिक दलहरूले आजै बन्दसूची बुझाउन नसके मङ्गलवार बिहानसम्म लिनुपर्ने अवस्था पनि आउन सक्ने बताए । गएको पालिका चुनावमा पनि उम्मेदवारी दर्ताका लागि दिइएको समय दलहरूले कटाएको उल्लेख गर्दै अहिले पनि त्यही अवस्था आउन सक्ने उनको भनाइ थियो ।
उनले भने, ‘विगतको अनुभवलाई हेर्दा त भोलि बिहान पनि आजै भइरहने हो कि भन्ने अवस्था हामीले महसुस गरिराखेका छौँ । आज बेलुकी ५ बजेभित्र आइपुगेर दलहरूले बन्दसूची बुझाइदिए हुन्थ्यो भन्ने हाम्रो भनाइ छ ।’
निर्वाचन आयोगले राजनीतिक दलहरूलाई प्रदेश सभा र प्रतिनिधि सभा चुनावको समानुपातिकतर्फको बन्दसूची बुझाउनका लागि हिजो र आज दुई दिनको समय दिएको थियो ।