जनकपुर , २८ चैत । स्थानीय तहको निर्वाचनका लागि समय नजिकिँदै जाँदा राजनीतिक दलहरू उम्मेदवार छनोटदेखि तालमेलको रणनीति बनाउन कसरतमा जुटेका छन् ।
स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको सत्तारूढ गठबन्धनमा आबद्ध दलका नेताहरू कसरी तालमेल गर्ने ? कुन स्थानीय तहमा कुन दलले उम्मेदवारी दिने ? साझा उम्मेदवार कसरी छनोट गर्नेलगायत विषयमा आन्तरिक तथा गठबन्धन दलभित्र छलफलमा केन्द्रित छन् भने गठबन्धन इतरका दलहरू उम्मेदवार छनोटको तयारीमा जुटेका छन् । केही दिनअघि सत्तारूढ गठबन्धन आबद्ध दलहरूको मधेस प्रदेशस्तरीय बैठकले प्रदेशका सबै पालिकाको समीक्षा गरी प्रतिवेदन बुझाउन जिल्लालाई पत्राचार गर्ने निर्णय गरेको थियो ।
प्रदेशको आठ वटै जिल्ला स्तरीय गठबन्धनलाई प्रत्येक पालिकाको समीक्षा गरेर चैत २२ गते मङ्गलवार सम्म प्रतिवेदन बुझाउन पत्राचार गरिए पनि जिल्ला जिल्लाबाट प्रतिवेदन आई नसकेकाले थप बैठक बस्न नसकेको जनता समाजवादी पार्टी मधेस प्रदेशका अध्यक्ष रामबाबु यादवले जानकारी दिए । यद्यपि जिल्ला जिल्लामा तालमेलका लागि सत्तारूढ गठबन्धनको बैठकहरू भइरहेको जनाइएको छ । विभिन्न जिल्लामा गठबन्धन दलबिचको बैठक हुन बाँकी रहेकाले प्रदेशस्तरीय गठबन्धन दलहरूको बैठक बस्न नसकेको नेकपा माओवादी केन्द्र मधेस प्रदेशका अध्यक्ष प्रह्लाद बुढाथोकीले बताए । जिल्ला जिल्लाबाट आएको सुझावसहितको प्रतिवेदनका आधारमा गठबन्धनको बैठक बस्ने उनको भनाइ थियो ।
अघिल्लो स्थानीय तहको चुनावमा देखिएको कमीकमजोरीलाई सच्याएर चुनावी परिणाम कसरी आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने रणनीतिक योजनाका साथ चुनाव केन्द्रित कार्यक्रम सञ्चालन गरिरहेको नेपाली काँग्रेस मधेस प्रदेशका सभापति कृष्णकुमार यादवले जानकारी दिए । प्रदेशभरिका सबै स्थानीय तहको वडा वडामा टोल समिति गठन गर्नाका साथै पालिका स्तरीय, प्रदेशसभा स्तरीय र सङ्घीय निर्वाचन क्षेत्र स्तरीय भेला सम्पन्न भइसकेको उनको भनाइ थियो । “स्थानीय तह निर्वाचन लक्षित कार्यक्रमहरू गरिरहेका छौँ,” प्रदेश सभापति यादवले भने, “स्थानीय तहको निर्वाचनमा नगरपालिकाको प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्षहरूका आकाङ्क्षीहरुमध्ये सम्भावित उम्मेदवारहरुको सूची तयार भइरहेको छ ।” गठबन्धन आबद्ध दलहरू साझा उम्मेदवार खोजी गरिरहँदा एक्लै चुनाव लड्ने तयारीमा रहेको नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टी भने उम्मेदवार छनोटको तयारीमा जुटेका छन् ।
पार्टी विभाजनपश्चात् मधेस प्रदेशमा खस्किएको आफ्नो साखलाई आगामी स्थानीय तह निर्वाचनमार्फत फर्काउने उद्देश्यका साथ नेकपा एमालेले आठ वटै जिल्लाका स्थानीय तहमा चुनाव लक्षित कार्यक्रम अघि बढाएको छ । एमाले नेता तथा मधेस प्रदेश सह इन्चार्ज लीलानाथ श्रेष्ठले स्थानीय तहका टोल समिति गठनसँगै वडावडाहरुमा टोल भेला तथा प्रशिक्षण दिने कार्यक्रम भइरहेको जानकारी दिए । स्थानीय तहका प्रत्येक वडाहरूमा पाँचदेखि १५ वटासम्म टोल कमिटी गठन गरिएको र भ्रातृ संस्थाको भेला, प्रशिक्षण र कमिटी गठनको कार्य जारी रहेको उनले बताए । यसैबीच नेकपा एमालेले धनुषाको जनकपुरधाम उपमहानगरपालिका र मिथिला नगरपालिकाको प्रमुख पदका लागि उम्मेदवार सिफारिस गरेको छ ।
उक्त दलले जनकपुर उपमहानगरपालिकाको प्रमुखमा शिवशङ्कर साह (हिरा) र मिथिला नगरपालिकाको नगरप्रमुखमा हरिनारायण महतोको नाम सिफारिस गरेको हो । निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाको २५ वटै वडाको वडा समितिहरूबाट साहको एकल नाम नगरप्रमुखमा सिफारिस भएको एमाले जनकपुरधाम नगर कमिटीका सचिव राजु साहले जानकारी दिए ।पार्टीको मधेस प्रदेश समितिका सदस्य रहनुभएका साह जनकपुरधाम उद्योग वाणिज्य सङ्घको अध्यक्षसमेत भइसकेका छन् ।
यस्तै मिथिला नगर समितिको आज बसेको बैठकले पुनः महतोलाई नै नगरप्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको जनाएको छ । पार्टीका केन्द्रीय सदस्यसमेत रहेका महतो मिथिला नगरपालिकाका प्रमुख छन् । पार्टीबाट नगरप्रमुख पदका आकाङ्क्षी देखिएका रामकुमार महतो, राजाराम महतो र लीलादेवी शर्माले आफूलाई समर्थन गरेपछि सर्वसम्मतबाट नगरप्रमुख पदमा उम्मेदवार बनाउने निर्णय गरिएको उम्मेदवारीका लागि दाबेदार महतोले जानकारी दिए । “हामीले गाउँ गाउँमा बैठक र भेला गरेर सम्भावित उम्मेदवारहरुको छनोट गरिरहेका छौँ,” एमालेका नेता तथा पूर्व मन्त्री लीलानाथ श्रेष्ठले भने, “वडा समिति र नगर समितिहरूबाट आएका सिफारिसकै आधारमा उम्मेदवार छनोट प्रक्रिया अघि बढाएका छौँ ।” उम्मेदवार छनोटसँगै चुनावी प्रचारप्रसार अभियानलाई समेत अघि बढाइएको उनको कथन थियो । यस्तै लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले स्थानीय तहको निर्वाचनका लागि सम्भावित उम्मेदवारहरुको सूची तयार गरिरहेको छ ।
लोसपाको जनकपुरधाम उपमहानगरपालिका कार्यसमितिको बैठकले उपमहा नगरप्रमुख र उपप्रमुखका लागि पाँच÷पाँचजनाको नाम सिफारिस गरेको छ ।पार्टीको नगर स्तरीय बैठकले नगरप्रमुखका लागि प्रदेशसभा सदस्य परमेश्वर साहसहित मनोज चौधरी, सञ्जय चौधरी, अमर पञ्जियार र जानकीराम साहको नाम सिफारिस गर्ने निर्णय गरेको हो। उपप्रमुखमा वर्तमान उपप्रमुख रीताकुमारी मिश्रसहित विभा ठाकुर, विभा पाण्डे, पुनम झा मैथिली र पुनम साहको नाम सिफारिस गरिएको जनाइएको छ ।
त्यस्तै राजनीतिक सहमतिका आधारमा मूलधारको राजनीतिमा फर्किएको डा सिके राउत नेतृत्वको जनमत पार्टी पनि स्थानीय तह निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न चुनावी तयारीमा जुटेको छ । स्थानीय तह निर्वाचनलाई लक्ष गरेर राजनीतिक दलहरूले सक्रियता बढाएपछि गाउँ गाउँमा चुनावी माहोलसमेत बढ्दै गएको छ । मधेस प्रदेशमा एक महानगरपालिका, तीन उपमहानगरपालिकासहित १३६ स्थानीय तह छन् । कूल ३३ लाख ३१ हजार १७० मतदाता रहेको यस प्रदेशमा स्थानीय तहको निर्वाचनका लागि चार हजार १९९ मतदाता केन्द्र तोकिएको जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।