Logo

दलाल नोकरशाही पूँजीवादका कारण संविधान कार्यान्वयनमा समस्या: नेपाल



काठमाडौँ, ३ असोज । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले दलाल नोकरशाही पूँजीवादका कारण संविधान कार्यान्वयनमा समस्या भएको बताएका छन् । ​

बुधबार नेपाल रिटर्नी एशोसिएसनको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दलाल नोकरशाही पुँजीवादले नेपालको राजनीति र अर्थतन्त्रलाई कब्जामा लिएका कारण संविधान कार्यान्वयनमा समस्या भएको बताएका हुन् ।

उनले पहिले देशलाई दलाल नोकरशाही पूँजीवादको कब्जाबाट मुक्त गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले शोषणको नयाँ-नयाँ रुपहरुलाई अन्त्य गर्दै राष्ट्रिय पूँजी विकासको वातावरण तयार नगरेसम्म संविधानमा लेखिएको कुरा व्यवहारमा लागू गर्न नसक्ने बताएका छन् ।

उनले संविधानले सबै प्रकारका अधिकारहरू दिएको भए पनि त्यसको कार्यान्वयनमा भने चुनौती रहेको बताए । उनले आजको दिन समाजमा भएका सबै भेदभाव, अन्याय, अत्याचार, पछौटेपन र गरिवीलाई अन्त्य गर्ने संकल्प गर्नुपर्ने आवश्यकता रहेको पनि बताएका हुन् ।

‘संविधानमा जुन किसिमका परिकल्पनाहरू गरिएका छन् । नेपालमा समाजवाद स्थापनाको एउटा परिकल्पना । नेपालमा न्यायको, समानताको, विकासको र समृद्धिको जुन एउटा सोच अगाडि सारिएको छ । विचार अगाडि सारिएको छ र समाजमा भएका सबै भेदभावहरुलाई, अन्याय, अत्याचार, थिचोमिचोहरुलाई, पछौटेपनलाई, गरिबीलाई, यी सबैलाई अन्त्य गर्ने संकल्प आजको दिनमा गर्नुपर्ने आवश्यकता छ । संविधानको पानालाई पल्टाएर हेर्‍यो भने संविधानले भन्न छुटेका कुरा सम्भवत: केही छैन होला । तर चुनौती के छ भने संविधानमा लेखिएको प्रावधानलाई व्यवहारमा लागू गर्ने कसरी? नेपाली विशेषताको समाजवादलाई व्यवहारमा लागू गर्ने कसरी? यस अर्थमा नेपाली विशेषताको समाजवादको बारेमा विषयवस्तुको अभाव देखिँदैन । गर्नुपर्ने कामको पनि अभाव देखिँदैन । तर योजनावद्ध ढंगले अगाडि बढ्ने कुरामा, व्यवहारमा लागू गर्ने कुरामा, मौलिक हक र अधिकारहरू जनतालाई प्रदान गर्ने कुरामा धेरै समस्याहरू देखिन्छ।’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्