काठमाडौँ, १३ चैत । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले दलीय आबद्धताका कारण कसैले संरक्षण गर्छ भनेर नसोच्न आग्रह गरेका छन् ।
अध्यागमन विभागका कर्मचारीहरूलाई मंगलबार निर्देशन दिँदै गृहमन्त्री लामिछानेले हिजोका घटनामा कसैलाई दोषारोपण गर्न नचाहने तर भविष्यमा त्यस्ता घटना र प्रवृत्ति दोहोरिनु नहुने बताएका हुन् ।
उनले रेमिट्यान्स पठाएर देशको अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई विमानस्थलमा जाँदा-आउँदा गरिने व्यवहार परिवर्तन हुनुपर्ने बताए ।
‘रेमिट्यान्स पठाएर देशको अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई विमानस्थलमा जाँदा-आउँदा गरिने अमर्यादित र अभद्र व्यवहार नगर्न तथा अनावश्यक दु:ख, कष्ट र हैरानी दिने प्रवृत्ति तत्काल सुधार गर्न आग्रह गर्छु । सहानुभूतिसहित सकारात्मक व्यवहार गरी आजैबाट सेवाग्राहीलाई परिवर्तनको अनुभूति गराउन पनि आग्रह छ,’ उनले भने ।
उनले विदेशीका लागि अध्यायमन देशको मुहार भएको पनि बताए । मुहार नराम्रो हुँदा देशप्रति नै सकारात्मक धारणा नबन्ने उनले बताएका हुन् ।
‘अध्यागमन सुधारका योजना ल्याउनुस् । तपाईंका योजनामा मन्त्रालयले सक्दो सहयोग गर्छ । म निर्देशन होइन सहकार्यमा विश्वास गर्छु । केही खराव मान्छेका कारण धेरै इमान्दारले दोष पाउने गरेका छन् । खराबलाई बेलैमा चिनेर इमान्दारलाई प्रोत्साहित गर्नुपर्छ,’ उनले भने ।







