रौतहट, १२ माघ । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दलीय भागबण्डामा नभएर सहमतिमा राष्ट्रपति चयन हुनुपर्ने बताएका छन् ।
रौतहट सदरमुकाम गौरको विपी स्मारक तथा घण्टाघरको बिहीबार शिलान्यासपश्चात पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
‘सत्ताधारी दलको धारणा के छ, उनीहरूबाट मात्रै हो त्यसमा मलाई केही भन्नु छैन तर देश विकास र अग्रगमनको दिशामा अघि बढ्न सबैको साझा उम्मेदवार भएमात्र उपयुक्त हुन्छ‚’ नेपालले स्पष्ट पारेका छन् ।
दलीय भागबण्डामा सन्तुलन बिग्रन सक्ने भएकाले सबै दलको छलफलपछि एकढिक्का भएर राष्ट्रपतिको उम्मेदवारी दिएमा राम्रो हुने उनले बताए । प्रधानमन्त्री प्रचण्डसँग राष्ट्रपति उम्मेदवारको विषयमा आफूसँग अहिले कुनै कुरा नभएको पनि उनले बताए ।







