जाजरकोट, २ कार्तिक । डिपोमा चामल आउला र दसैं मनाउला भनेर आशामा बसेका जाजरकोट जुनीचाँदे-७ रजुतराका करवीर बुढा निराश छन् । दसैंअघि खाद्य डिपोमा चामल नआउने भन्ने सुनेपछि उनी जस्तै धेरै स्थानीय छटपटीमा छन् । दसैंअघि डिपोमा सहुलियत दरको चामल पाइने आशामा बसेका त्यहाँका बासिन्दालाई चाडबाड टार्ने पिरलो छ ।
स्थानीय बजारमा खाद्यान्न पाइँदैन । पाइए पनि निकै महँगो पर्छ । खाद्यको भन्दा झन्डै दोब्बर पैसा तिरेर पनि सहज रूपमा चामल पाइँदैन । वर्षातमा बिग्रेको बाटो अझै बनेको छैन । जसका कारण पनि जुनीचाँदेवासी थप समस्यामा छन् ।
सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत ढुवानी अनुदान दिएर सहुलियत दरमा खाद्यान्न बिक्री गर्ने गरेको छ । तर, चाडबाडका बेला सहुलियत दरको चामल नपाउँदा करबीर जस्तै धेरै बिपन्न नागरिक समस्यामा परेका छन्। मूल्यवृद्धिले खाद्यान्न छोइसक्नु छैन । नजिकमा बजार पनि छैन ।
खाद्यान्न कसरी जुटाउने रजुतराकै अर्की स्थानीय रामकली घर्तीले भनिन्, ‘चाडबाड आउन थालिसके । घरमा खाने अन्न छैन । डिपोमा चामल आएको छैन । म जस्तै धेरैले डिपोको चामल कुरेर बसेका छौं तर कहिले आउने हो केही टुंगो छैन । डिपो तीन महिनादेखि बन्द छ । दसैं कसरी मनाउँ?’
सहुलियत दरको चामल खाद्य डिपोमा नहुँदा खाद्य संकट झेलिरहेका स्थानिय चर्को मूल्यको मारमा परेका छन् । बजारबाट उनीहरूले दोब्बर बढी मूल्य तिरेर चामल किन्न बाध्य छन् । रजुतरामा रहेको खाद्य डिपोमा यतिबेला एक गेडो पनि चामल छैन ।
रजुतरामा मात्र होइन जुनीचाँदेकै ताँगाचौर, बारेकोटको काउली र नायकवाडा, नलगाडको चौखा, कुशेको टापुचौर, छेडागाडको दशेरा र पजारु खाद्य डिपोमा पनि चामल ढुवानी हुन नसक्दा स्थानीय मारमा परेका छन् । खाद्यले समयमा टेन्डर नगर्दा डिपोमा खाद्य पुग्न नसकेको हो । यो समाचार अन्नपूर्ण पोस्टमा छ ।







