Logo

दाङमा कोइला खानीको सुरुङभित्र पुरुषको शव फेला, श्रीमतीसहित दुई जना पक्राउ



दाङ, १४ पुस । दाङको बङ्गलाचुली गाउँपालिकामा एक पुरुषको शव फेला परेको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर-६ अघराका शिवराज केसीको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

केसीलाई हत्या गरी शव बङ्गलाचुली गाउँपालिका वडा नम्बर-४ को गदारी र फाँटाको जङ्गलमा रहेको कोइला खानीको सुरुङभित्र लुकाइएको अवस्थामा फेला परेको हो ।

गएको पुस ८ गते घरदेखि बङ्गलाचुली जान्छु भनेर हिँडेका उनको त्यही दिन नै हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ । केसीको हत्या आरोपमा दुईजना पक्राउ परेका छन् । बङ्गलाचुली गाउँपालिका वडा नम्बर-४ गदारीका शेरबहादुर कुँवर र उनकै श्रीमती दीपालाई भारतको नयाँ दिल्लीमा भारतीय प्रहरीले पक्राउ गरी नेपाल प्रहरीलाई बुझाएको छ ।

कोइला खानीको झण्डै ५० मिटर सुरुङभित्र शव रहेको आरोपितको बयानका आधारमा खोजी गर्दा शव फेला परेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्