दाङ, २१ चैत । दाङमा दुईवटा यात्रुवाहक बस ठोक्किँदा बसमा सवार रहेका २२ जना यात्रु घाइते भएका छन् ।
लमही नगरपालिका-३ वनगाउँमा दुईवटा बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
बुटवलबाट सुर्खेत जाँदै गरेको लु१ख ७३६३ नं को बस र तुलसीपुरबाट बुटवल जाँदै गरेको रा १ ख २५८१ नम्बरको यात्रुवाहक बस आज आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।
वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शङ्कर श्रेष्ठले घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जानकारी दिए ।
गम्भीर रुपमा घाइते हुनेमा गढवा गाउँपालिका-२ का लक्ष्मण थारू र राप्ती गाउँपालिका-२ लालमटियाका ७८ वर्षीय चन्द्र कमल थापा रहेका छन् । थारू दुर्घटनामा परेको एक बसका चालक हुन् । उनीहरुलाई लमही अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।






