Logo

‘दायित्वबाट पन्छिन नमिलेर हारे पनि राजीनामा नदिएको हुँ’



काठमाडौँ, ८ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले सरकार आफ्नो दायित्वबाट पन्छिन नमिल्ने भन्दै चुनाव हारे पनि राजिनामा नदिएको बताएका छन् ।

शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

उनले प्रतिनिधिसभा सदस्य निर्वाचन हारेपछि आफूले राजीनामा दिनका लागि प्रधानमन्त्रीलाई भेटे पनि प्रधानमन्त्रीले सरकार आफ्नो दायित्वबाट पन्छिन नमिल्ने भन्दै राजीनामा नदिन आग्रह गरेकाले आफूले राजीनामा नदिएको स्पष्ट पारेका छन् ।

उनले अहिलेको सरकार चुनावी सरकार भएकाले नैतिकवान बनेर नै अर्को सरकारलाई सत्ता हस्तान्तरणपछि बिदा हुने बताए । उनले नैतिकताको विषय उठाएर राजीनामा दिँदा सरकारमा आउने चापको महत्वलाई हेरेर आफ्नो दायित्व पूरा गरेको बताए ।

उनले भने, ‘चुनाव हारिसकेपछि राजिनामा नगरी किन बसेको भन्ने प्रश्न छ, यो नेपाली समाज र राजनीतिमा बहसको विषय छ । हामी नैतिकवान हुनुपर्छ त्यसमा कुनै बहस छैन । तर हामी चुनावी सरकारको रुपमा आएकाले हामीले अब बन्ने नयाँ सरकारलाई हस्तान्तरण गरेर मात्रै बिदा हुने हो । यो हाम्रो जिम्मेवारी हो। सबैले नैतिकता भनेर छोडेर हिँड्यो भने त्यो बीचमा पर्नसक्ने समस्यालाई हेरेर हामीले निर्णय लिनुपर्छ । अन्य बेलाको भए त्यसमा बहस हुन्थ्यो । हामीले राजिनामा दिएर हिँड्दा दायित्वबाट पन्छिएको जस्तो हुन्छ । मैले हारिसकेपछि राजिनामा दिन्छु भनेर प्रधानमन्त्रीलाई पनि भेटेको थिएँ । तर उहाँले चुनावी सरकारले नयाँ सरकारलाई हस्तान्तरण गरेर मात्रै बिदा हुने हो दायित्व पूरा गर्नुपर्छ भन्नेकुरा गरेपछि नै म बसेको हो । संविधानले पनि यही परिकल्पना गरेको छ ।’

मन्त्रालय मन्त्री श्रेष्ठले चुनावी सरकारले नयाँ बन्ने सरकारलाई जिम्मेवारी हस्तान्तरण गरेपछि नै आफ्नो दायित्व पूरा हुने कुरा संविधानले परिकल्पना गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्