Logo

दार्चुलाको व्यासमा हिमपहिरो, यार्सागुम्बा सङ्कलक बसेका त्रिपाल हिउँले पुरिए



दार्चुला, १९ वैशाख । दार्चुलाको ब्याँस गाउँपालिका-१ बोलिङ्गमा हिमपहिरो गएको छ ।

आज दिउँसो गएको हिमपहिरोले यार्सागुम्बा सङ्कलक बस्दै आएका केही त्रिपाल पुरिएका हुन् ।

यार्सागुम्बा सङ्कलक बस्दै आएका त्रिपाल हिउँले पुरिएपछि केही व्यक्ति बेपत्ता भएको जानकारी प्राप्त भएको सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५० गुल्म छाङरुका प्रहरी नायव उपरक्षिक ईश्वरीदत्त भट्टले जानकारी दिए । उनको नेतृत्वमा सशस्त्र प्रहरीको २५ जनाको टोली घटनास्थलतर्फ गएको छ ।

“हाम्रो टोली पुग्न अझै एक घण्टा लाग्छ, अनी मात्र घटनाको वास्तविकताबारे जानकारी हुन्छ”, हिमपहिरो गएको ठाउँमा जाँदै गरेका डिएसपी भट्टले भने । अक्सिजन अभावका कारण हिमपहिरो गएको ठाउँमा पुग्न समय लाग्ने उनको भनाइ थियो । हिमपहिरो गएको ठाउँमा यार्सागुम्बा सङ्कलक त्रिपाल हालेर बस्दै आएका थिए । अत्यधिक हिउँ परेका कारण यार्सागुम्बा सङ्कलक केही दिनयता त्रिपालमुनि बस्दै आएका थिए ।

“केही सङ्कलक दाउरा खोज्न गएका भन्ने खबर पाएका छौँ, उनीहरुले नै हिमपहिरोबारे खबर गरेपछि घटनाबारे थाहा पायौँ”, डिएसपी भट्टले भने-“यार्सागुम्बा सङ्कलक स्थानीय बाहेक अन्य जिल्लाका पनि रहेको सूचना प्राप्त भएको छ ।” खराब मौसमका कारण उद्धारमा कठिनाइ भइरहेको उनले बताए ।

सङ्कलक केही दिनअघि यार्सागुम्बा संकलनका लागी लेकतर्फ उक्लिएका ब्याँस-१ का वडाध्यक्ष अशोक बोहराले बताए । “लगातार हिउँ परिरहेको थियो, संकलन त्रिपालमुनि नै बस्दै आएका थिए, यार्सागुम्बा संकलन गर्न जान सकिरहेका थिएनन”, उनले भने ।

व्याँसस्थित सितापुलबाट समेत प्रहरी टोली घट्नास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्