दार्चुला, २५ कात्तिक । दार्चुलामा चुनावी प्रचारप्रसारका क्रममा नेकपा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा चार जना घाइते भएका छन् ।
दार्चुला जिल्लाको अपिहिमाल गाउँपालिका-५ ओखलमा चुनावी प्रचारप्रसारका क्रममा बिहीबार झडप भएको हो ।
गठबन्धनका कार्यकर्ताले नेकपा एमालेका प्रदेश सभा क्षेत्र नम्बर २ का उम्मेदवार रामदत्त जोशीको टोलीलाई आफ्नो क्षेत्रमा प्रचार गर्न अवरोध गरेपछि झडप भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
झडपमा परि गठबन्धनका कार्यकर्ता अपिहिमाल गाउँपालिका-६ का जहेन्द्र धामी, जगत धामी र एमालेका कार्यकर्ता मार्मा गाउँपालिका-३ का वीरेन्द्र विष्ट र शैल्यशिखर नगरपालिका-९ का सुरेश बादी घाइते भएका प्रहरीले जनाएको छ । घाइतेहरुको लटिनाथ अस्पतालमा उपचार भइरहेको छ ।







