Logo

दार्चुला पुगेर प्रचण्डले भने: प्रतिगमनलाई परास्त गर्न गठबन्धन गरेको हो



दार्चुला, २३ कार्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले मुलुकको परिवर्तन, लोकतन्त्र, शान्ति र संविधानलाई बचाउनका लागि नेपाली कांग्रेससँग गठबन्धन गरेको बताएका छन् ।

बुधबार दार्चुलाको गोकुलेश्वरमा आयोजित वाम-लोकतान्त्रिक गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विगतमा सात राजनीतिक दलको तर्फबाट कांग्रेसका सभापति एवं तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र आफूले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि नै देशको राजनीतिक परिवर्तनको प्रक्रिया सुरु भएको स्मरण गराएका थिए ।

अहिले मुलुकमा व्याप्त परिवर्तन विरोधी, संघीय लोकतन्त्र विरोधी, संविधान विरोधी र प्रतिगामीहरुलाई परास्त गर्नका लागि नेपाली कांग्रेस लगायत परिवर्तन पक्षधर पार्टीहरुसँग गठबन्धन गरेको उनले बताए । अध्यक्ष प्रचण्डले नेपाली जनताको साथ र सहयोगसहित गठबन्धनका दलहरु एक ढिक्का भएमा प्रतिगामीहरुलाई परास्त गर्न सकिने दावी गरेका थिए ।

अहिले मुलुकमा दुई खाले गठबन्धन भएको चर्चा गर्दै अध्यक्ष प्रचण्डले भने, ‘ठूलो संघर्षबाट प्राप्त नेपाली जनताको अधिकारको संरक्षण, संविधानको रक्षा, संघीयता, लोकतन्त्र र नेपाली जनताको पक्षमा हाम्रो गठबन्धन बनेको छ ।’

प्रतिगामी शक्तिहरुले पनि गठबन्धन बनाएको भन्दै उनले भने, ‘जो हिजोका दिनदेखि नै संघर्षबाट प्राप्त उपलब्धिहरुको विरोधी थियो । अहिले पनि निकै ठूलो संघर्ष, त्याग र बलिदानबाट प्राप्त उपलब्धिहरुलाई उल्टाउन चाहन्छ, संविधानलाई च्यात्न चाहने, मुलुकमा राजतन्त्र फर्काउन चाहनेहरुको पनि गठबन्धन बनेको छ । त्यसको नेतृत्व केपी ओलीले गरेका छन् ।’

मंसीर ४ गते यी दुई गठबन्धनबीच ठूलो रणसंग्राम हुने भन्दै प्रचण्डले त्यसको निर्णय नेपाली जनताको हातमा भएको उल्लेख गरे । परिवर्तनका पक्षधर, संविधानको रक्षा, शान्ति सम्झौता, लोकतन्त्र, गणतन्त्र, संघीयताका पक्षधरहरुको नेतृत्व गर्ने पार्टीका नेताहरु जनताको घरदैलोमा आएको भन्दै प्रचण्डले जनताले उहाँहरुलाई मत दिने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्