Logo

दार्चुला हिमपहिरो अपडेट: भारतीय सडकमार्गमा पहिरो गएपछि शव ल्याउन समस्या



दार्चुला, २२ वैशाख । दार्चुलाको व्यास गाउँपालिका-१ भोलीनमा हिमपहिरोमा परेर ज्यान गुमाएकाहरुकाे शव ल्याउन समस्या भएको छ ।

भारतीय सडकमार्गबाट उनीहरुको शव सदरमुकाम खलङ्गा ल्याउने भनिए पनि भारततर्फ सडकमा पहिरो खस्दा समस्या भएको हाे । गएकाे मङ्गलवार हिमपहिरोमा परेर बेपत्ता भएका पाँच जनामध्ये तीन जनाको शव फेला परेको थियो ।

हिमपहिराेमा परि दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ४ की ३८ वर्षीया कमला कुँवर, १८ वर्षीय प्रविण कुँवर र डोटीको जोरायल गाउँपालिकाको बुडर बस्ने ४५ वर्षीय नक्की डोमा थापाको ज्यान गएकाे थियाे ।

यस्तै, हिमपहिरोमा बेपत्ता भएका डोटीको जोरायल गाउँपालिका वडा नम्बर २ बुडरकी २८ वर्षीया इश्वरी थापा र १५ वर्षीया छिमी सामो थापाको अवस्था अझै थाहा हुन सकेकाे छैन ।

तीन जनाकाे शव भारतीय सडक मार्ग हुँदै सदरमुकाम ल्याउने कार्य भइरहेको भए पनि भारतकाे गर्वाधार क्षेत्रमा पहिरो गएपछि समस्या भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।

अहिले यस क्षेत्रमा पहिरो हटाउने काम भइरहेको उनले बताए । सडक सञ्चालनमा आएपछि आजै उनीहरुको शव खलङ्गा पुर्याइने बताइएको छ । मृतकको शव पोष्टमार्टमपछि आफन्तहरुको जिम्मा लगाइने प्रहरी निरीक्षक सिंहले जानकारी दिए । सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले बेपत्ता दुई जनाकाे पनि  खोजी गरिरहेकाे उनले बताए ।

मङ्गलवार हिमपहिरो गएपछि यार्सागुम्बा टिप्न गएका पाँच जना टेन्टसहित बेपत्ता भएका थिए । सात जनाले भागेर ज्यान जोगाएका थिए । भागेर ज्यान जोगाएका सात जनालाई प्रहरीले सकुशल उद्धार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्