मेचीनगर, ५ फागुन । आयोजक नवज्योति फुटबल क्लब मेचीनगरमा जारी नकआउट फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको खेलमा पेनाल्टी सुट आउट मार्फत दार्जिलीङ्ग विरुद्ध जित निकाल्दै आयोजक नवज्योति युवा क्लब सेमीफाइनलमा स्थान बनाउन सफल बनेको हो ।
अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलमा आयोजकलाई जित निकाल्न निक्कै सकस परेको थियो । दुवै तर्फबाट भएका कयौँ प्रहार कुनै गोल रक्षकले विफल बनाइदिएका थिए त कुनै प्रहारले गोलपोष्टको दिशा लिन सकेन ।
निर्धारित समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो । तर अतिरिक्त समयमा समेत दुवै तर्फबाट गोल हुन सकेन । अन्तत पेनाल्टी सुट आउट मार्फत खेलको निर्णय लिनुपरेको थियो । जसमा ४-३ को गोलअन्तरमा आयोजक विजयी बनेको हो ।
दुई जना खेलाडिले पेनाल्टी मार्फत गोल गर्न नसक्दा दार्जिलीङ्गले हार बेहोर्नुपर्यो । यससँगै दार्जिलीङ्ग प्रतियोगिताबाट बाहिरिएको छ भने आयोजकले सेमीफाइनल समिकरणमा ब्रदर्श युनाइटेड, चन्द्रगढीसगँको भेट पक्का गरेको छ ।
बिहीबारको खेलको म्यान अफ द म्याच आयोजक टिमबाट जर्सी नं २ लगाएर मैदान उत्रिएका सेवन थापा घोषित भएका हुन् ।