खोटाङ, १० पुस । उदयपुरको गाईघाटबाट यात्रु लिएर सदरमुकाम दिक्तेलतर्फ आउँदै गरेको प्रदेश १-०५-००१ ख००१७ नम्बरको बस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुइँपामा दुर्घटना हुँदा गर्भवतीसहित छ यात्रु गम्भीर घाइते भएका छन् ।
बुइँपास्थित बजार क्षेत्र पार गरेको बस स्वास्थ्य चौकीभन्दा मुनि पुगेपछि सडकबाट करिब पाँच मिटर तल खस्दा हलेसी तुवाचुङ नगरपालिका-११ राजापानीकी रेनुका भुजेलसहित छ यात्रु घाइते भएका हुन् ।
बत्तीस यात्रु सवार बस दुर्घटनामा भुजेलसहित घाइते हुनेमा बुइँपा खिरीका २९ वर्षीय वीरेन्द्र घिमिरे, बुइँपाकै कट्टी निवासी २८ वर्षीया दिलकुमारी श्रेष्ठ, रावाबेँसी गाउँपालिका-२ खार्पाका २० वर्षीय कुसल सार्की, दिक्तेल रुपाकोट मझुवागढी-१५ विजयखर्कका ७३ वर्षीय आइते सार्की र सोही स्थानकी २७ वर्षीया सुस्मिता ढुङ्गाना रहेका छन् । घाइतेमध्ये वीरेन्द्रको अवस्था गम्भीर रहेको प्रत्यक्षदर्शीले बताएका छन् ।
बसमा च्यापिएको अवस्थामा प्रहरी र स्थानीय बासिन्दाले उद्धार गरेका वीरेन्द्रको बायाँ तिघ्राभन्दा माथिल्लो भागमा गहिरो चोट लागेको जनाइएको छ । गम्भीर अवस्थाका वीरेन्द्र, रेनुका र दिलकुमारीलाई जिल्लामा उपचार हुन नसकेपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिए ।
सामान्य अवस्था रहेका अन्य घाइतेको स्वास्थ्य चौकी बुइँपामा प्राथमिक उपचार भइरहेको दिक्तेल रुपाकोट मझुवागढी-१४ बुइँपाका वडाध्यक्ष दिनेश राईले बताए ।
सहचालकले बस चलाउँदा दुर्घटना भएको यात्रुले बताएका छन् । सहचालकले सडकमा बाङ्गोटिङ्गो गर्दै बस हिँडाएपछि यात्रुले गाली गरेको केही समयपछि नै दुर्घटना भएको सोही बसमा सवार यात्रु युवराज खनालले बताए ।
सडकबाट डिलमुनि खसेको बस रुखमा अल्झिएका कारण थप क्षति हुन नपाएको यात्रुहरुले बताएका छन् । दुर्घटना गराएर फरार भएका चालक र सहचालकको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।






