Logo

दिगो पूर्वाधार विकासबाट मात्रै समृद्धिको ढोका खुल्छ: मन्त्री ज्वाला



काठमाडौँ, २४ मङ्सिर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले दिगो पूर्वाधार विकासबाट मात्रै समृद्धिको ढोका खुल्ने बताएका छन् ।

आज आयोजित ‘सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एन्ड इञ्जिनियरिङ फर्म’ (स्काफ) को ३३औँ वार्षिकोत्सव तथा ‘इमर्जिङ च्यालेन्ज अफ कन्सल्टिङ फम्र्स’ विषयक कार्यक्रममा उनले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखे मात्रै मुलुकको आर्थिक समृद्धि हासिल हुने बताएका हुन् । पूर्वाधार निर्माणका क्षेत्रमा विभिन्न समस्या देखिँदा अपेक्षित उपलब्धि हासिल गर्न नसकिएको मन्त्री ज्वालाको भनाइ थियो ।

“निर्माण क्षेत्रमा अनेकौँ समस्या र चुनौती छन् । समयमा काम सुरु नहुने, प्रक्रिया पूरा गर्न ढिलो हुने, सुरु भइसकेका आयोजनामा समयमा काम नसकिने, प्रशासनिक तथा कानुनी झन्झटलगायत छन्”, उनले भने, “पूर्वाधारको विकासबाटै समृद्धिको ढोका खुल्छ भन्नेमा हामी स्पष्ट छौँ । वार्षिक नीति कार्यक्रम र बजेटमा जे प्रतिबद्धता सरकारले जनाएको छ, त्यसको पालनामा हामी प्रतिबद्ध छौँ ।”

नेपालमा दिगो प्रकृतिको पूर्वाधार निर्माणका लागि गर्नुपर्ने सुधारबारे सरकारलाई सुझाव दिन मन्त्री ज्वालाले सबैलाई आग्रह गरे । निर्माण क्षेत्रमा देखिएका नीतिगत, कानूनी, प्रशासनीकलगायत झन्झट हटाउन सरकार जिम्मेवार भएर लाग्ने उहाँले प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्