Logo

दिल्लीको नयाँ मुख्यमन्त्रीमा रेखा गुप्ताको शपथ



काठमाडौं, ८ फागुन ।  भारतको सङ्घीय राजधानी दिल्लीको नयाँ मुख्यमन्त्रीमा नियुक्त हुनुभएकी रेखा गुप्ताले शपथ लिनुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा रामलीला मैदानमा आयोजित समारोहमा मुख्यमन्त्री गुप्ताले शपथ लिनुभएको हो ।

कार्यक्रममा प्रधानमन्त्री मोदीसँगै अमित शाहलगायत भारतीय जनता पार्टी (भाजपा) को नेतृत्व रहेको अन्य राज्यका मुख्यमन्त्री तथा उपमुख्यमन्त्रीहरू उपस्थित थिए । गुप्तासँगै ६ जना मन्त्रीले पनि शपथ लिएका छन् । दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाललाई पराजित गर्ने परवेश वर्मा पनि मन्त्री बन्नुभएको छ ।

भाजपाले दिल्लीको नवौं मुख्यमन्त्रीको रूपमा रेखा गुप्ताको नाम हिजो घोषणा गरेको थियो । रेखा दिल्लीको चौथो महिला मुख्यमन्त्री हुनुभएको छ । यसअघि सुष्मा स्वराज, शीला दीक्षित र आतिशी दिल्लीको मुख्यमन्त्री बन्नुभएको थियो ।

यसैबीच मुख्यमन्त्री रेखा गुप्ताले दिल्लीलाई समृद्ध र आत्मनिर्भर राज्य बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । शपथपछि सामाजिक सञ्जाल एक्समा लेख्दै गुप्ताले दिल्लीवासीको आकाङ्क्षा पूरा गर्न आफू तयार रहेको बताउनुभएको छ । दिल्लीमा भाजपा २७ वर्षपछि सरकारमा फर्किएको हो ।

प्रतिक्रिया दिनुहोस्